महानगर गतिविधि


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

मेट्रो सिटी बनाउन सिफारिस

साउन २९  । काठमाडौं उपत्यकाका तीन जिल्लाका सबै गाविसलाई समेटेर स्वायत्त 'मेट्रो सिटी' बनाउन अध्ययन टोलीले सरकारलाई सिफारिस गरेको छ। सरकारद्वारा गठित नगरक्षेत्र निर्धारण समितिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा बुझाएको प्रतिवेदनमा तीनवटै जिल्लाका गाविसहरूलाई गाभेर नगरपालिका बनाउन सिफारिस गरिएको हो।
काठमाडौंमा ९, ललितपुर र भक्तपुरमा ४/४ गरी १७ नगरपालिकाको सिफारिस भएको छ। ललितपुरको हरिसिद्धिलाई उपमहानगरपालिकामा गाभ्न प्रस्ताव गरिएको छ। यसमा ललितपुरको दुर्गम २७ गाविसलाई समेटिएको छैन। लेले पनि उपत्यकाको नगरपालिकाभित्र परेको छैन। सरकारले काठमाडौं, भक्तपुर र ललितपुरका सबै गाविसहरूलाई १७ वटा नगरपालिकामा रूपान्तरण गरी गाविसविहीन बनाउने तयारीसमेत गरेको छ। त्यस्तै स्वायत्त मेट्रो सिटीको अवधारणामा समेट्ने योजना बनाएको छ।
सरोकारवाला र स्थानीय बासिन्दाको माग र दीर्घकालीन विकास गर्न मेट्रो सिटीको सिफारिस गरिएको समितिका सदस्य एवं नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणि पौडेलले बताए। सम्भाव्यता अध्ययनका आधारमा सबै गाविसलाई नगरपालिकामा रूपान्तरण गर्न सकिने निष्कर्ष निकालिएको उनले बताए। 'एकीकृत विकास गर्न मेट्रो सिटीको अवधारणामा जानुको विकल्प छैन,' पौडेलले कान्तिपुरसित भने। समितिकै अर्का एक सदस्यका अनुसार मापदण्डमा परेका पूर्वाधार र स्रोतसाधनसम्पन्न गाविसहरूलाई गाभेर नगरपालिका बनाउने र सबै नगरपालिकाको छाता संगठनका रूपमा मेट्रो सिटीको अवधारणा उपयुक्त ठानिएको हो।
बढ्दो जनघनत्व, स्रोतसाधन लगायतका कारणले हालका नगरपालिका वरपरका गाविसहरूलाई आधार बनाएर नगरपालिका बनाइएको छ। विकास, पूर्वाधार, प्रकोप नियन्त्रण, फोहोर व्यवस्थापन लगायतका पक्षलाई व्यवस्थापन गर्न नसक्दा कतिपय गाविसहरू भद्रगोल छन्। एकीकृत र विशिष्टीकृत सेवा दिनुपर्ने भन्दै मन्त्रालयले नगरपालिकाका रूपमा स्तरोन्नति गर्न जोड दिएको हो। उपत्यका वरपर नगरोन्मुख क्षेत्रमा भने करिब ६ वटाभन्दा बढी गाविस समेटेर नगरपालिका घोषणा गरिएको छ। अधिकांश नगरको नाम र केन्द्र निर्धारणमा धार्मिक क्षेत्रलाई महत्त्व दिएको देखिन्छ। 
हाल उपत्यकामा काठमाडौं र भक्तपुरमा दुई/दुई र ललितपुरमा एक गरी पाँच नगरपालिका छन्। सिफारिस कार्यान्वयनपछि उपत्यकाका सबै नगरहरूको संख्या २१ पुग्नेछ। यसअघि नगरपालिकामा रूपान्तरण हुन असहमत भई आन्दोलन गरेका ललितपुरका खोकना, बुङमती लगायतका गाविसका बासिन्दा पनि नगरपालिकामा रूपान्तरण हुन सहमत भएका छन्।
मेट्रो सिटीको अवधारणा अघि सारे पनि त्यसको ढाँचा र स्वरूपबारे सिफारिसमा केही उल्लेख छैन। 'राज्य पुनर्निर्माणको बहस बाँकी नै रहेकाले त्यसबारे पछि छलफल गर्न उपयुक्त देख्यौं,' समितिका सदस्यले भने। 'मेट्रो सिटी भएकाले उपत्यकाका नगरपालिकाहरूको समग्र नीति र योजना तय गर्ने तथा तिनको नियमन गर्ने भूमिका हुनेछ।' हालको काठमाडौं विकास प्राधिकरणलाई त्यही स्वरूपमा ढाल्ने अवधारणा पनि अघि सारिएको छ। 
झन्डै ४० लाख जनसंख्या रहेको काठमाडौं उपत्यका दक्षिण एसियाकै उच्च जनसंख्या वृद्धिदर भएको सहरी क्षेत्रमा पर्छ। समग्र जनसंख्या वृद्धिदर झन्डै पाँच प्रतिशतको हाराहारीमा रहेको उपत्यकामा बसोबासका लागि बस्ती क्षेत्रसमेत फैलँदैछ। दस वर्षअघि ४३ हजार रहेको जोरपाटी गाविसको जनसंख्या अहिले झन्डै दोब्बर अर्थात ८३ हजारभन्दा बढी पुगेको छ। 
तीन महिनाअघि नयाँ नगरपालिकाको सिफारिसका लागि सरकारले भूगोलका प्राध्यापक केशवानन्द गिरीको संयोजकत्वमा समिति गठन गरेको थियो। मन्त्रालयको नगरपालिका महाशाखा हेर्ने सहसचिव, सहरी विकास मन्त्रालयका सहसचिव, नापी विभागका उपमहानिर्देशक, नगरपालिका संघका अध्यक्ष तथा मन्त्रालयको नगरपालिका शाखाका उपसचिव सदस्य सचिव रहने गरी गठित समिति प्रतिवेदन बुझाइसकेको छ। 

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery