Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67

संस्कृति

Posted On: August 07, 2014

नालामा लोकेश्वरजात्रा

- ज्ञानेन्द्र विवश / 
प्राचीनता र ऐतिहासिक पृष्ठभूमि तथा धार्मिक महत्वको थलो मानिने काभ्रेको नालामा करूणामय (सृष्टिकान्त लोकेश्वर) र उग्रचण्डी भगवती यहाँका प्रसिद्ध मन्दिर हुन्। यिनलाई स्थानीयवासीले आराध्यदेवका रूपमा हार्दिक श्रद्धा प्रकट गर्नै गर्दछन्। यहाँ नाला करूणामय र महालक्ष्मीको भव्य उत्सवका साथ बर्सेनि जात्रा हुने परम्परा छ। करूणामयलाई अवलोकितेश्वर, आर्यावलोकितेश्वर आदि नामले पनि पुकारिने गरिन्छ। संसारका सबै प्राणीहरूको उद्धारमा गर्ने कार्यमा यी भगवान्‌को नाम लिइन्छ। यो जात्रा प्रत्येक वर्ष फाल्गुण पूणिर्मा तिथिदेखि प्रारम्भ हुन्छ। खट्जात्रा अर्थात् मुख्य जात्रा तृतीयाका दिन हुन्छ। यस दिन विहानैदेखि करूणामयको मन्दिरक्षेत्र मच्छिन्द्रबहालमा पुजारी, गुठियार, भक्तजनहरूको भीड लाग्दछ। यस किसिमको सांस्कृतिक चहलपहलले नाला क्षेत्रमा प्राचीन जात्रा-संस्कृतिको पुर्नजीवन सुरू भएको महसुस गर्न सकिन्छ। सहरी घुँइचो र घचारोबाट अलग्ग प्रकृतिको सुन्दर स्थल नालामा जात्रा अवधिभर धर्मधामको चहलपहलले वातावरण नै रमाइलो पारिदिन्छ। यस अवसरमा नालावासीका साथै छिमेकी, आफन्त, नलनाताको समेत उत्साहपूर्वक उपस्थिति रहेको हुन्छ। त्यस्तै जात्रा हेर्न आउनेहरूको पनि उस्तै भीड लाग्दछ। त्यसैले यस जात्रालाई चेलीबटी, दाजुभाइ, माइती-मावली र सम्पूर्ण आफन्तजनको मिलन-पर्वका रूपमा पनि नालावासीले लिने गरेको पाइन्छ।
नालाका स्थानीय वासी तथा संस्कृतिविद् सिद्धलाल कर्माचार्यका अनुसार यस करूणामयको जात्रालाई सृष्टिकान्त लोकेश्वरजात्राका नामले चिनिन्छ। हिन्दु र बौद्ध दुवै धर्मका साझा देवता मानी यी लोकेश्वरलाई हिन्दु धर्मावलम्वीहरू नारायण र बौद्धधर्मका मानिस सृष्टिकान्त लोकेश्वरका रूपमा श्रद्धाभक्ति प्रकट गर्ने गर्दछन्। यसप्रकार दुवै धर्मका अनुयायीहरूले समान आस्था र आराधनाका साथ यी करूणामय भगवान्‌प्रति सम्मान दर्शाइने गरिन्छ। जात्रा प्रारम्भ हुनु अगाडि अर्थात् होली पूणिर्माका दिन मन्दिरमा अवस्थित करूणामयको मूर्तिलाई जीवनन्यास साधना गरी आसनबाट बाहिर निकालिन्छ। मूर्ति रहेको स्थानमा कलश स्थापना गरी त्यहाँ जीवनन्यास राखिन्छ। त्यसैगरी प्रतिपदाका दिन करूणामय सृष्टिकान्तलाई महास्नान गराइने परम्परा छ। त्यसका लागि पूण्यमाता नदीबाट पवित्र जल ल्याइन्छ। मन्दिर सामुन्नेको शिलामण्डप जुन सानो पोखरीको बीचमा छ, त्यहाँ सृष्टिकान्त लोकेश्वरलाई पद्माशनमा विराजमान गराइ पञ्चामृतद्वारा महास्नान गरिन्छ। महास्थान कार्यका लागि पाँजुले घडामा जल ल्याउने परम्परा छ। यो महास्नान कार्यलाई दूग्धस्नान गरिने संस्कारका रूपमा पनि लिइने प्रचलन रहेको पाइन्छ। यी लोकेश्वरलाई पुजारीबाहेक अरू कसैले पनि छुनु हुँदैन र कसैले अञ्जानवश छोएको भए सो पाप पखाल्न पनि यो स्नान कार्य गरिएको हो भन्ने भनाई रहेको कुरा सिद्धिलाल कर्माचार्य बताउछन्। यही विधि पूरा गर्न हरेक वर्ष पाटनस्थित बुङ्मतीका पाँजुहरू नालामा आउने परम्परा रहेको बताउँदै तिनै पाँजु अर्थात् पुरेत वर्गले लोकेश्वरको सम्पूर्ण कर्मकाण्ड गर्ने चलन रहेको पनि उनी जानकारी दिन्छन्।
यस अवसरमा बाजागाजाको साङ्गीतिक उत्सव तथा महास्नान हेर्नेहरूको भीडले जात्राकै स्वरूप लिन खोज्दछ। स्नान कार्यपछि आगन्तुकहरूलाई पुजारीका तर्फबाट जलप्रसाद ग्रहण गरिने चलन पनि रहेको छ।
द्वितीयाका दिन लोकेश्वरलाई रङरोगन गराउने कार्य हुन्छ। त्यसका लागि पहिले पाटनका चित्रकार आएर विधिअनुसार रङरोगन गरिने परम्परा थियो तर हिजोआज स्थानीय पुजारीबाटै सो कार्य हुँदै आएको पाइन्छ। त्यसपछि पाँजुहरूले दुशलकर्म क्रियाका निम्ति पूजाका सम्पूर्ण सामग्री मन्दिर प्रवेशको सामु प्रतिष्ठापनार्थ राख्दछन्। रङरोगन कार्यपछि दुशलकर्म पूजा प्रारम्भ गरिन्छ। यसमा विधिअनुसार पकाएको भात खुवाउने गरिन्छ। तृतीयाका दिन करूणामय सृष्टिकान्त लोकेश्वरको जात्राको प्रमुख तिथि हो। यसदिन प्रतिष्ठा सम्बन्धी कार्य, दशकार्य विधि आदि सबै पूरा गरिन्छ। यसैदिन मन्दिरसँगैको भवनमा बेलविवाह गर्ने कन्याहरूलाई लस्करै राखी विधिपूर्वक बेलविहेको संस्कार नेवार ब्राहृमणबाट हुन्छ।
यता करूणामयको मन्दिर अगाडि पञ्चदान कार्य भइरहेको हुन्छ। यी सबै कार्य सकिएपछि पाँजुले जात्राको पालो परेका गुठियारलाई जात्रा सञ्चालनको अनुमति स्वरूप भगवान्‌ बुद्धका विभिन्न मूर्तिहरू हस्तान्तरण गर्दछन्। यी सबै परम्परागत विधिको समाप्तिसँगै जात्रा प्रस्थान कार्य प्रारम्भ हुन्छ। सजाइएको खटमा सृष्टिकान्त लोकेश्वरलाई विराजमान गराइएपछि परम्परागत छत्र ओढाइ जात्रा सुरू गरिन्छ। यस अवसरमा अविर बर्षा र बाजागाजा तथा भजन टोलीको बेग्लाबेल्लै सांस्कृतिक दृश्य देख्न सकिन्छ। त्यस्तै जात्रा हेर्न आएका र जात्रामा सहभागीहरूको उत्साह एवम् उत्सुकताले जात्राको वातावरण नै रमाइलो उत्सवका रूपमा परिणत हुन्छ। लोकेश्वरको खटजात्राका साथ पछिपछि दीपङ्कर बुद्धको मूर्तिलाई पनि समावेश गरिन्छ। जात्रामा धूपको सुगन्ध, चिराग बत्तीको मधुरो प्रकाश र भक्ति सङ्गीतको संसारमा नालावासी निस्फिक्री नगर परिक्रमा गर्दै अगाडि बढ्दछन्। त्यस नगर परिक्रमामा सभक्ति शान्ति प्रार्थनाको कामना सबैको हुन्छ। एक चित्त, एक ध्यानबाहेक उनीहरूका मनमा सायद अरू केही कुरा पनि बाँकी हुँदैन।
देश र जनताको सधैँ भलो चाहने, शान्ति र समृद्धिका प्रतीक मानिने यस्ता देवता नालामा विराजमान भएको खुसियालीमा स्थानीयवासीले ती भगवान्‌को जात्रा गरी श्रद्धा प्रकट गर्ने तथा आफ्नो टोलछिमेक र सिमानाको दर्शन गराउने प्रचलन सुरू भएको पाइन्छ। यिनै परम्परागत प्रचलनको निरन्तरता आजका पुस्तासम्म उत्तिकै मर्यादित र व्यवस्थित रूपमा हुँदै आएको पाइन्छ। वर्षको एकपटक यसरी जात्रा गरिँदा उनीप्रति भक्तजनको भक्तिभाव प्रदर्शित भएको प्रत्यक्ष देखिन्छ। करूणामयको दर्शन र पूजाआजा गरेमा देश र जनता तथा आफ्नो र परिवारको सुखशान्ति हुने, अन्नबाली उब्जाउ राम्रो हुने आदि जनविश्वास पनि रहेकाले जात्रामा सबैको समान सहभागिता रहँदै आएको छ। जात्राको व्यवस्थापन र निरन्तरताका लागि 'करूणामय सेवा खलः' को स्थापना गरिएको छ।
यस समितिभित्रका गुठियारहरूले हरेक वर्ष पालो लिएर परम्परागत जात्रा चलाउँदै आइरहेका छन्। यसरी पालो लिएका गुठियारहरूले त्यो वर्षको जात्राको सबै व्यवस्थाको जिम्मेवारी पूरा गर्नु पर्दछ। यो जात्रा सञ्चालनका लागि विशेषतः स्थानीयवासीबीच छलफल गरी जनमतसमेत लिइएको थियो। सोही जनमतको सकारात्मक परिणाम स्वरूप 'जात्रा गर्ने' पक्षमा सर्वसम्मति भयो। यस किसिमको सर्वसम्मत निर्णयका कारण पनि यस जात्राप्रति आस्था, आराधना र अत्यधिक श्रद्धा रहेको पाइन्छ। त्यसैअनुसार बर्षेनि फाल्गुण पूणिर्मा तिथिदेखि यो जात्राको चहलपहल सुरू हुन थाल्दछ। यस जात्राको निरन्तरताका निम्ति नालाका विन्द्रलाल श्रेष्ठ, हरिलाल श्रेष्ठ, इन्द्र बज्राचार्य आदिको सक्रियतामा गुठी व्यवस्था गरिएको पनि स्थानीय सिद्धलाल बताउछन्। त्यही गुठी व्यवस्थाद्वारा नै खटजात्राको व्यवस्थापन हुँदै आएको छ। यसरी नयाँदेखि पुराना पुस्तासमेतको सहभागितामा यस जात्राले आफ्नो पुख्र्यौली गौरवमय परम्परालाई अक्षुण्ण राख्दै आएको छ।
करूणामय सृष्टिकान्त लोकेश्वरको जात्रा हरेक वर्ष करूणामयको मन्दिरस्थल मच्छिन्द्रबहालबाट सुरू हुन्छ। त्यसपछि स्थानीय गणेश मन्दिरबाट इटलाछेँ, गँसटोल, लागनटोल, वलाछेँ, इपाटोल र मेछेँटोल भई पुनः मच्छिन्द्रबहालमै खट ल्याएर टुङ्गिन्छ। जात्रालाई नगर वा टोल परिक्रमका क्रममा नाला र अन्यत्रबाट आएका श्रद्धालुहरूले पूजाआजा गर्ने, धूपबत्ती बाल्ने, भाकल पूजा गर्ने तथा आफ्ना मनोकाङ्क्षा व्यक्त गर्ने चलन रहेको छ। जात्रापश्चात् 'लसकुश' गरी करूणामय भगवान्‌लाई मन्दिरमा प्रतिष्ठापन गराइन्छ। यसरी जात्रा एक वर्षका लागि समापन हुने परम्परा रहेको छ।
[साभार: गोरखापात्र (नेपाली दैनिक), विसं २०६७ चैत्र १२ शनिवार/ईसं २०११ मार्च २६, पृ. ग]

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery