News


Notice: Undefined property: dbMain::$query_count in /home/metrofm/public_html/lib/dbClass.php on line 67
Posted On: August 14, 2014

एमाओवादीले प्रशिक्षण नरोक्ने

साउन २९ ।आन्तरिक विवादमा फसेको एकीकृत नेकपा माओवादीले राजनीतिक तथा वैचारिक प्रशिक्षणलाई नरोक्ने भएको छ। लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले भदौ दोस्रो साता राष्ट्रिय परिषद बैठक डाकेर आन्तरिक विवादको समाधान खोज्ने र जारी वैचारिक तथा राजनीतिक प्रशिक्षण नियमित गर्ने निर्णय गरेको हो। 
'हाल जिल्ला–जिल्लामा जारी राजनीतिक प्रशिक्षणलाई स्थगित नगर्ने निर्णय भएको छ,' स्थायी समिति सदस्य जनार्दन शर्माले  भने, 'सहमतिका आधारमा नै नयाँ कार्यतालिका बनाएर प्रशिक्षणलाई जारी राख्छौं।' उनका अनुसार बाबुराम भट्टराई पक्षसँग सहमति जुटाएर नै राजनीतिक प्रशिक्षणलाई नयाँ कार्यतालिकाअनुसार जारी राख्ने निर्णय बैठकले गरेको हो। 
अध्यक्ष पुष्पकमल दाहाल र भट्टराईबीच विवाद बढ्दै गएपछि त्यसलाई हल गर्न भन्दै गत आइतबार भट्टराई पक्षले जारी समानान्तर समिति गठन प्रक्रिया नबढाउने तथा संस्थापन पक्षले राजनीतिक प्रशिक्षण स्थगित गर्ने 'भद्र सहमति' भएको थियो। 
बुधबार बसेको स्थायी समिति बैठकले भने समानान्तर समिति गठन प्रक्रियालाई रोके पनि जारी राजनीतिक प्रशिक्षणलाई भने निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष दाहाल अर्थात संस्थापन पक्षसँग असन्तुष्ट रहँदै आएको भट्टराई पक्षले 'अन्यायमा परेका जिल्लामा' समानान्तर समिति गठन गरेको बताउँदै आएको छ। भट्टराई पक्षले डेढ दर्जन जिल्लामा समानान्तर समिति गठन गरेपछि एमाओवादीमा संस्थापन पक्ष र भट्टराई पक्षबीच विवाद बढेको हो। उक्त विवाद हल गर्न आइतबार शीर्ष नेताको संयुक्त बैठक बसेको थियो। 
'बैठकमा अध्यक्ष (दाहाल) ले वैचारिक बहस व्यवस्थापन समितिमा भएको छलफलबारे बिफ्रिङ गर्नुभयो, कुरा सकारात्मक नै छ,' अर्का स्थायी समिति सदस्य गोपाल किरातीले बुधबार नागरिकसँग भने, 'त्यसअनुसार केन्द्रीय परिषदको बैठकसम्म आन्तरिक बहस र एकता प्रक्रियाबारे छलफल चलाउँदै जान्छौं।' उनका अनुसार भदौ १०–१२ गते हुने केन्द्रीय परिषद बैठकमा आन्तरिक विवादबारे व्यापक छलफल गर्ने निर्णय बैठकले गरेको छ। 
पार्टीको विधि र नीति मिचेको आरोपमा भट्टराईनिकट केन्द्रीय सदस्यद्वय गंगानारायण श्रेष्ठ र रामरिझन यादवलाई गरिएको कारबाही भने स्थायी समितिले फिर्ता गरेको छैन। 'दुवै नेताको कारबाही फिर्ता गर्ने/नगर्ने बारेमा आज (बुधबार) को बैठकले कुनै निर्णय लिएन,' किरातीले भने, 'यसबारे पछि निर्णय हुन सक्छ।' उनले यस विषयमा शीर्ष नेताले नै टुंगो लगाउने बताए। श्रेष्ठ र यादवको कारबाही फिर्ता नलिए केन्द्रीय समितिमा नै उपस्थिति नजनाउने भट्टराई पक्षले चेतावनी दिँदै आएको छ। नागरिक दैनिकमा खबर लेखेका छन् ।

Like us on Facebook

Post Comments

Latest News

View More Latest News
http://www.kathmandu.gov.np

महानगर गतिविधि

View More

Photo Gallery